काठमाण्डाै – नेपालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेन्डाका रूपमा उठाउने भएको छ ।
सिंहदरबारमा आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईले जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइने जानकारी दिनुभएको हो ।
नेपालले ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ लगायतका संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ । साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्युयोर्कमा नेपालले ‘सगरमाथा टु द सी’ विषयमा उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्नेछ । यसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ ।
महासभाको उच्चस्तरीय हप्ताअन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गरी सेप्टेम्बर २६ मा स्वदेश फर्कनेछ ।

