विश्वमा पानीको चक्र झन् अनियमित बन्दै

विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले आज सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्नसक्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

डब्ल्यूएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि ३ दशकभन्दा धेरै अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो ।

गएको वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै ठाउँमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ । पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावटसमेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ ।

डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताउनुभयो । उहाँका अनुसार यस्ता भण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभाव तत्काल सङ्कटमा परिणत हुन नदिने ‘बचत खाता’ को काम गर्दै आएका थिए । ‘अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

सन् २०२५ मा विश्वका सबै क्षेत्रमा हिमनदीले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन् । सन् २०२३ देखि २०२५ सम्म हिमनदीहरूले झन्डै १ हजार ४०० गिगाटन पानी बराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ ।

विश्वभर अनुगमन गरिएका झन्डै दुईतिहाइ कुवामा सन् २०२५ मा ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको साउलोले बताउनुभयो ।

यसबीच एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिम अझ बढाउन सक्ने उहाँले चेतावनी दिनुभयो । झन्डै चार दशकयताकै शक्तिशाली एल निनो विकसित हुने अपेक्षा गरिएको भन्दै उहाँले यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्ने बताउनुभयो ।

डब्ल्यूएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो । सन् २०२५ पछिल्लो ३५ वर्षमा नदीहरूका लागि सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो । लगातार सातौँ वर्ष विश्वभर सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या अल्पमतमा रह्यो । प्रतिवेदनअनुसार झन्डै ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो ।

डब्ल्यूएमओले पानी चक्रको अवस्था बुझ्न र जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्याङ्क तथा देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ ।

डब्ल्यूएमओका महासचिव साउलोले पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्याङ्क, मापदण्ड र पूर्वचेतावनी प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पुर्‍याउन सक्ने उल्लेख गर्दै भर्खरै चीन र नेपालमा देखिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *