नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई अर्थमन्त्री वाग्लेको आव्हान

काठमाण्डौ – अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।

तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले, ‘कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री’ अर्थात् सीआईआईले आयोजना गरेको अन्तरक्रियामा यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै, उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन क्षेत्र, नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण आधार बन्दै गएको बताउनुभयो । भारतीय व्यवसायीले नेपाललाई बजारका रूपमा मात्र नभई, लगानी, उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने उहाँको भनाई छ ।

सरकारले सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले, बजेट र कर प्रणालीमा गरिएका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता–मैत्री बनेको दाबी गर्नुभयो । कार्यक्रममा सहभागी भारतीय व्यवसायीहरूले नेपालको लगानी नीति र क्षेत्रगत अवसरबारे चासो राख्दै, सम्भावित सहकार्यका लागि रुचि देखाएका थिए ।

भारत भ्रमणका क्रममा मन्त्री वाग्लेले, नेपाल–भारत आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा र पुनर्निर्माणका विषयमा त्यहाँका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *