भदौमा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात

काठमाण्डौ – नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत् बिक्री गरी पाँच अर्ब नौ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशतर्फ ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार गरी दुई माध्यमबाट विद्युत् निर्यात गर्दै आएको छ ।

द्विपक्षीय सम्झौताअन्तर्गत भारतका हरियाणा र बिहार राज्यका साथै बङ्गलादेशतर्फ ४२ करोड १६ लाख २१ हजार युनिट विद्युत् निर्यात भई तीन अर्ब ६४ करोड २५ लाख २८ हजार रुपैयाँ आम्दानी भएको छ । यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख ८५ हजार युनिट विद्युत् बिक्री गरी एक अर्ब ४४ करोड ९९ लाख ३२ हजार रुपैयाँ आर्जन भएको छ ।

यसैबिच, भोटेकोशीमा आएको बाढीका कारण बङ्गलादेशतर्फको विद्युत् निर्यात भने प्रभावित भएको छ । बाढीले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रका संरचनाका साथै २२० केभी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा क्षति पुर्‍याएपछि आपूर्ति रोकिएको हो ।

प्राधिकरणले अन्य जलविद्युत् आयोजनाबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *