काठमाडौँ : भोटेकोशी बाढीपछि सिर्जित विपद्बारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरू ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउन सहमत भएका हुन्।
बैठकमा सहभागी राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउनेबारे छलफल भएको जानकारी दिए। ‘अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समिति छानबिन गर्ने कुरा पनि भएको छ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भने।
भदौ १० गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा उनले उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव राखेका थिए।
बैठकले १० बुँदे संकल्प जारी गर्दै दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने विषय समेटेको थियो। संकल्पको १० नम्बर बुँदामा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकुलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्न सहमत भएको उल्लेख गरिएको थियो।

