म्याग्दी : बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ। जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका छन्। कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अथवा १९.८२ प्रतिशत २० वर्षमुनिका रहेका कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए।
‘छ जना घरमै सुत्केरी भएका हुन्’, उनले भने, ‘गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अथवा ४३ जना २० वर्षमुनिका छन्।’ आव २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३.७२ प्रतिशत अथवा १९० जना २० वर्षमुनिका थिए। २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ जना थियो।
विसं २०७८ को जनगणनाअनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ। जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार योजनाका साधनको प्रयोग गर्ने जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ। म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिएर बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताइन्। बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उनको भनाइ छ।
‘सामाजिक सञ्जाल’, उनले भनिन्, ‘गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिवन्धमा परेर किशोरीहरू बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छ।’
प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा हेमन्त बास्तोलाले गत आवमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षमै आमा बनेको बताए। पन्ध्र वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले गत आवमा प्रदेश अस्पताल बेनीबाट प्रसूति सेवा लिएका छन्।
‘बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब, लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीजस्ता समस्या एकसाथ जोडिएको छ’, उनले भने, ‘शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलता निम्तिन सक्ने जोखिम हुन्छ।’
प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन्। जनजाति समुदायका १७ र ब्राह्मण÷क्षेत्री समुदायका सात जना छन्। विद्यालय तहको पनि पढाइ पूरा नहुँदै किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट वञ्चित हुने र सामाजिक रूपमा पछि पर्ने गरेका उपप्रध्यापक रेग्मीले बताइन्।
बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ।
उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ। बालविवाह रोकथामका लागि कानुनी सचेतनामात्र पर्याप्त नभई विद्यालयमा किशोरीको निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने चिकित्सक बास्तोलाको भनाइ छ।

