त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार

काठमाण्डौ – माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।

संयुक्त खोज तथा उद्धार टोलीले आज बिहान सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ । उनीहरुलाई उपचारको लागि काठमाण्डौ ल्याइएको छ ।

दुवैजनाको स्वास्थ्य सामान्य रहेको उद्धारकर्मीले बताएका छन् । उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग संवादसमेत गरेको थियो । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो । त्यसपछि उद्धारटोली भित्र पसेर उद्धार गर्न सफल भएको हो ।

२ जनाको उद्धारसँगै सुरुङभित्र रहेका अरु व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ । यस आयोजनाको भूमिगत विद्युत् गृह तथा सुरुङ क्षेत्रमा बाढी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फसेको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *