अलोकतान्त्रिक रुप लिएको जेन जि आन्दोलन : आफ्नै खुट्टामा बन्चरो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रेडियो टाइम्स/ निश्चल ज्ञवाली  :  नेपालमा हालैको जेन जि आन्दोलनले युवापुस्ताको असन्तोष, क्रान्तिको चाहना र न्यायको खोजलाई स्पष्ट देखायो। लामो समयदेखि थिचिएको पीडाले जब आवाज पायो, तब सडकमा उर्लिएको ऊर्जा अनौठो थिएन। तर दुर्भाग्य के भयो भने—त्यो ऊर्जा सही बाटोमा harness गर्न नसकिँदा आन्दोलनले आफैंलाई नै कमजोर बनाउने काम गर्‍यो।

आन्दोलन सुरु गर्ने मूल कारण राम्रै थियो—भ्रष्टाचार, अनियमितता, नेताहरूको गैरजवाफदेहीपन र जनताको आवाजलाई बेवास्ता गर्ने परिपाटी। यी सबलाई अन्त्य गर्ने माग जायज मात्र नभई अत्यावश्यक पनि थियो। युवाहरूले आवाज उठाउनु लोकतान्त्रिक अधिकार मात्र होइन, जिम्मेवारी पनि हो।

तर प्रश्न उठ्छ—नेताहरूको घर जलाउनु, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नु, आगजनी गर्नु के आन्दोलनको सही बाटो हो? जनताकै करले बनेको संरचना भत्काएर, आफैंले चलाउनुपर्ने सहर जलाएर आखिर कसलाई सजाय दिइयो? यसरी हिंसा र तोडफोडमार्फत आन्दोलनलाई “शक्ति प्रदर्शन” गर्ने नाममा हिंडाउँदा आन्दोलनको असल सन्देश छायामा पर्छ।

शान्तिपूर्ण आन्दोलन शक्तिशाली हुन्छ, तर हिंसात्मक आन्दोलन कमजोर र क्षणिक हुन्छ। इतिहासले देखाएको छ—शान्तिपूर्ण विरोधले मात्र दीर्घकालीन परिवर्तन ल्याउन सक्छ। नेता–कार्यकर्ताले जनतालाई डर देखाएर होइन, तर्क र तथ्य देखाएर मात्र सचेत बनाउन सक्छन्।

जेन जि आन्दोलनको नाममा भएका गलत गतिविधिहरूले युवापुस्ताको सकारात्मक ऊर्जा माथि प्रश्न खडा गरेको छ। जब आन्दोलन नै अशान्त र हिंसात्मक देखिन्छ, तब सत्तामा बस्नेहरूलाई सजिलो हुन्छ—“तपाईहरूको माग असंगत छ” भनेर बेवास्ता गर्न। यसरी आफैंले आफैंलाई कमजोर बनाउनु नै आफ्नै खुट्टामा बन्चरो हान्नु हो।

अब आवश्यक छ—आन्दोलनलाई अनुशासन, स्पष्ट एजेन्डा र शान्तिपूर्ण माध्यममा अगाडि बढाउने। असली शक्ति युवाको जागरणमा छ, विध्वंसमा होइन।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।