अज्ञानताको अन्धकार हटाई ज्ञानको प्रकाश दिनेे गुुुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली ।

गुरु शब्दको सार बुझ्न थाल्दा हामी अन्धकारबाट उज्यालोतर्फ यात्रामा लाग्दछौं। 'गु' अर्थात अन्धकार र 'रु' अर्थात उज्यालो – यही भएर गुरु भन्नाले त्यो महान आत्मालाई जनाउँछ, जसले अज्ञानताको अन्धकार हटाई ज्ञानको प्रकाश दिलाउँछ। गुरु पूर्णिमा, यस्तो पवित्र दिन हो, जब हामी आफ्नो जीवनका यथार्थ मार्गदर्शकप्रति कृतज्ञता प्रकट गर्छौं – भौतिक मात्र होइन, आध्यात्मिक मार्गदर्शकप्रति पनि।


गुरु भनेको त्यो होइन जसको अगाडि हामीले नमस्कार मात्र गर्छौं, गुरु भनेको त्यो हो, जसले हामी लाई आफूभित्र लुकेको चेतनासम्म पुर्याउँछ। जसले संसारको मोह-माया, द्वन्द्व र भ्रमबाट मुक्त गराउँछ । गुरु भनेको ऐना हो, जसले  हाम्रो वास्तविक रूपलाई  देखाउँन मद्दत गर्छ ।


गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्। उनी जीवन सिर्जन, संरक्षण र रूपान्तरण गर्ने शक्तिको प्रतिनिधि हुन्। त्यसैले शास्त्रमा भनिएको छ –

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥


गुरु स्वयं ब्रह्म हुन्, जसले आत्मा भित्रको ब्रह्म-चेतनालाई जगाउँछन्।


हाम्रो जीवनमा धेरै शिक्षक आउँछन्— विद्यालयका गुरु, काम सिखाउने व्यक्ति, सल्लाह दिने मान्छेहरू। तर सबै ‘गुरु’ हुँदैनन्। साँचो गुरु त्यो हो जसले तपाई र  “तपाईं को हो?” भन्ने प्रश्नको उत्तर दिन सहयोग गर्छ।

आध्यात्मिक आयाम

आज हामीलाई घर बनाउने सीप छ, तर शान्तिको घर बनाउने उपाय छैन। डिग्री छ, तर दिशा छैन। हामी टेक्नोलोजीको शिखरमा पुगेका छौं, तर आत्मा ज्ञानको खडेरी  बढ्दै गएको छ। यही कारणले आज गुरुको खाँचो झन् बढी छ।

 

 

जीवनलाई फर्केर हेर्ने दिन

गुरु पूर्णिमा केवल पूजाको दिन होइन। यो आत्मपरीक्षणको दिन हो।
आजको दिन हामी आफैसँग केही प्रश्न गरौं :

म को हुँ ?

के म जीवनको साँचो लक्ष्यतर्फ गइरहेको छु?

के मेरो जीवनमा ज्ञान मात्र छ कि बोध पनि छ?

के म अहंकारले बाँचिरहेको छु कि विनम्रताले?
गरु पूर्णिमा हाम्रो लाई कुनै राम्रो कामको सुरुवात गर्ने  दिनपनि हो ।


अबको गुरु खोजी

अहिलेको युगमा गुरु सजिलै भेटिँदैनन्। धेरैले ज्ञानको नाममा ढोंग बेचिरहेका छन्, तर शुद्ध आत्मा जगाउने गुरु एक मात्र हुनुहुन्छ । जसलाई गीतामा परब्रह्मम भनेर उल्लेख गरिएको छ । अर्थात् गुरुको पनि गुरु सद्गुरु परमात्मा । गुरु पूर्णिमाको  त्यस्ता आत्माहरूले बुझन सक्छन् जसले  जीवनमा साँचो ज्ञान, प्रेम, शान्ति र मुक्ति चाहन्छन्।

 

निष्कर्ष : मनलाई गुरुको सामिप्यमा राखौं

यो पूर्णिमाको रातमा जूनको उज्यालो छ भने, हाम्रो जीवनमा गुरुको ज्ञान पनि त्यस्तै उज्यालो हो।
त्यो उज्यालोले मनका अन्धकारहरू हटाउँछ।
हरेक वर्ष गुरु पूर्णमा आउँछ तर हामी केवल फूल र माला अर्पण गर्न मात्रै व्यस्त हुन्छौं । साचों गुरु पूर्णिमा त्यो जहाँबाट हामीले गुरुको शिक्षालाई व्यवहारिक ढङ्गबाट उतार्न सक्छौं र त्यसलाई जीवनमा निरन्तर अभ्यास गर्न सक्छौं । त्यसैले
आफ्नो अहंकार, द्वेष, लोभ र मोह अर्पण गरौं। त्योभन्दा ठूलो पूजाआराधना केही हुँदैन । यही सन्देश लिएर, हामी सबै सच्चा गुरु र सत्य मार्गतर्फ लम्कौं। यसैमा हाम्रो आत्माको साँचो मुक्ति सम्भव छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।