साउन महिना र भगवान शिव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिले साउन महिना चलिरहेको छ । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् उत्तम महिना भनिएको पाइन्छ । श्रावण शब्द श्रवणबाट अाएको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु, सुन्नु मतलब ज्ञान र भक्तिको कुरा सुन्नु र त्यसलाइ बुझ्नु । 

त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो । यसलाई  भगवान् शिवको प्रिय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको प्रिय महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ । साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । 

नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ । अहिले देशभर विशेष गरेर काठमाडौको  पशुपतिनाथ, रुपन्देहीको सैनामैना स्थित परोंहा स्थित बोलबम धाम एवं देशभरका शिवालय मन्दिरहरुमा दर्शनार्थी, भक्तजनहरुको घुइँचो छ । 

 शिव को हुन ?  

शिव को अर्थ नै हुन्छ कल्याणकारी । त्यसैले पनि शिवको याद उपसनाले मनुष्य जगत एवं जगतको उद्दार हुने मान्यता हिन्दु धर्म शास्त्रमा छ । साउनमा महिनामा  हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जा  वृद्धिको प्रतिक हो । महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । त्यसैले यो महिनामा महिला दिदी बहिनीहरु अाफ्नो श्रीमान् र परीवारको भलोको लागि व्रत बस्ने गर्छन ।

 श्रावण महिना र सामाजिक दृष्टिकोण  

अहिले साउन महिना भन्ने बित्तिकै हामी सबैको मानसपटलमा रातो साडी, चुरा, मेहेन्दी र सकि नसकि व्रत बस्ने कुरा अाउँछ नै यद्यपि  व्रतलाई एउटा आधुनिक फेसन, देखावटी एवं ढोँगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना पालन गरिने नियमको आफ्नै महत्व छ। मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भने पछि उसले आफ्नो सोच सकारात्मक बनाएको हुन्छ। परापूर्व कालदेखि नै साउने सोमवारको दिन व्रत बसी चोखो खाने चलन थियो। अहिले आएर आधुनिकता र समयको मागसँगै साउन महिना भर हरियो पहेलो रातो रंगको चुरा पोते नेल पोलिस मेहेन्दी लगाउने पूजा अर्चना गर्ने प्रचलन बनेको छ। साउन महिनामा चारैतिरको वातावरण एवं बोटविरुवा पनि हरिया हुने भएकाले हरियो भएर हिँड्न रुचाउने मनोवैज्ञानिक अवधारणा रहेको छ। साउन महिनालाई पछिल्लो समयमा समयको माग अनि अलिकति आधुनिकतामा पनि बदलिएको पाइन्छ। 

साउन महिना आउनासाथ बजारमा पनि विभिन्न थरीका सामग्री भित्रिएको पाइन्छ पहिलेका बूढापाकाले मनाउने तरीका र अहिलेका नयाँपिंढीका युवतीले मनाउने साउने पर्वमा विकृति देखा परेको पाइन्छ। हामीले संस्कृतिलाई जगेर्ना गर्नुपर्छ तर विकृति भित्र्याएर होइन, जे छ त्यसमा सन्तुष्ट रहन सिक्नुपर्छ तब मात्र यो पर्वको महत्व रहन्छ। समय परिस्थितिसँगै अलिकति संस्कृतिमा पनि परिवर्तन आएको पाइन्छ। अधिकांश महिला दिदीबहिनी आमाहरुले पानी नखाई व्रत बस्ने चलन छ। वैज्ञानिक दृष्टिकोणले व्रत बस्नु केही हदसम्म राम्रो छ तर व्रत बस्दा आफ्नो शारीरिक क्षमता र मानसिक शक्तिको आँकलन गदै एक अनुभवी व्यक्तिको पथप्रदर्शनमा क्रमिकरुपले उपवासको अभ्यास गर्नु पर्दछ। निर्जला उपवासको राम्रो परिणाम प्राप्त भएका थ्रुपै उदाहरण पनि पाउन सकिन्छ। 

हरेक पर्वको आफ्नै महत्व हुने गर्दछ। व्रतलाई एउटा आधुनिक फेसन, देखावटी एवं ढाँगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना पालन गरिने नियमको आफ्नै महत्व छ। मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भने पछि उसले आफ्नो सोच सकारात्मक बनाएको हुन्छ। उसमा थोरै भए पनि आस्था र श्रद्धाको भाव प्रकट हुन्छ। तर पनि संस्कृति जगेर्ना गर्नका लागि आफ्नो शरीरले नसकी नसकी व्रत बस्नु कदापि राम्रो होइन यदि तपार्इं शारीरिक र मानसिक रुपमा सबल हुनु हुन्छ भने व्रत बस्न उचित देखिन्छ। 

साउन महिनामा व्रत बस्नु हरिया पहेँला, चुरा लगाउनु मेहेन्दी लगाउने एउटा परम्परा मात्र हो  । वास्तवमा भगवान शिवले हामीलाई सिकाउने व्रत भनेको विकारको व्रत हो, गलत कामको व्रत हो  क्रोधको व्रत हो, यी कुराबाट व्रत बस्यौं भने  मात्र नै  हाम्रो कल्याण हुने हो । त्यसैले हामी सबै जनाले अाफ्नो धर्म,संस्कृति एवं चाडपर्वलाई मौलिक एवं श्रद्धाभावमा मनाउन जरुरी देखिन्छ । 

लेखक :  निश्चल ज्ञवाली

Nischal Gyawali

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।