जन्मदिनमा केक काट्नैपर्छ र ? : केेक स्वास्थ्यका लागि कति घातक र अस्वस्थकर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली /  :  जन्मदिन भन्नाले जन्मेको दिनलाई बुझन सकिन्छ ।  हरेक व्यक्तिको लागि आफू जन्मेको दिन निकै नै महत्त्वपूर्ण मानिन्छ किनभने जन्मेको दिनबाट नै जीवनको यात्रा प्रारम्भ भएको हुनाले जन्मदिनलाई जीवनको शुभारम्भ काल समेत मान्न सकिन्छ ।

विश्वमा  हरेक व्यक्तिले आफ्नो  जन्मदिनको अवसर पारेर केक काट्ने र, पार्टी आयोजना गर्ने एवं विभिन्न सहयोग र सामाजिक कार्य  समेत गरेका हुन्छन् ।

युनानबाट सुरु भएको केक काटेर र बत्ती निभाएर जन्मदिन मनाउने चलन बुझेर वा नबुझेर विभिन्न देशका नागरिकहरुले अँगालेका छन्। हुदां हुदां जनताको करले तलब भत्ता र सुविधा बुझ्ने नेताहरूसमेत केक काटेर भव्य रूपमा जन्मदिन मनाउन थालेका छन्। कुन नेताकोमा कत्रो केट काटियो? नेताको जन्मदिनमा कसले आकर्षक केक उपहार लग्यो? नेताको जन्मदिनमा कत्रो केक हातमा पर्‍यो? जस्ता चर्चाले सामाजिक सञ्जाल र सञ्चारमाध्यम पछिल्लो समय रंगिने गरेका छन् ।


केक र जन्मदिनको प्रसङ्ग

नेपालमा हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा खुसी साटासाट गर्छन तर कतिपय मानिसहरु खुसी भएको अरुलाई देखाउनकै लागि केक काट्ने गरेको समेत पाइन्छ ।

केक एउटा खाने परिकार हो, पाउरोटी जस्तै। पाउरोटीको परिस्कृत परिकारलाई नै केक भन्न सकिन्छ। केक बनाउने तरिकामा विश्वव्यापी रूपमा निकै विविधता पाइए पनि यसमा प्रयोग गरिने कच्चा पदार्थहरूमा भने धेरै समानता पाइन्छ। केकमा आधारभूत रूपमा मैदा (प्रशोधित पिठो), बटर, सेतो चिनी, सेतो नुन, तरल पदार्थ (प्रायः दूध, दही, आदि), अण्डा, बेकिङ सोडा आदि अनिवार्य रूपमा राखिने गरिन्छ। त्यस अतिरिक्त केकमा स्थिरता, स्वाद र आकर्षण आदिका लागि केकमा चकलेट र क्रिम पनि राख्ने गरिन्छ।

९८ प्रतिशत उपभोक्ताहरूले केक बजारबाट नै किन्ने गर्दछन्, मात्र २ प्रतिशतले घरमा बनाउने गरेको अध्ययनले समेत देखाएको छ । व्यावसायिक दृष्टिले बजारमा बेचिने केकमा अत्यधिक सेतो चिनी राखिएको हुन्छ। अधिक मात्रामा (बटर वा तेल वा डाल्डा) बोसो पदार्थ राखिएको हुन्छ। यी दुई चिजको अधिकताको कारण केक अत्यधिक क्यालोरीले भरिएको हुन्छ। त्यस अतिरिक्त केकलाई रङ्गिन एवं आकर्षक देखाउन अनेक खालका रङको समेत प्रयोग गरिएको हुन्छ जुन अस्वस्थकर हुन्छ।

७ जुन, सन् २०२० मा रोमन एस्ट्रच र समूहले न्युट्रियेन्टस् नामक संस्थाले गरेको अनुसन्धानका अनुसार पछिल्लो ३० वर्षमा विश्वव्यापी रूपमा मोटोपन बढ्नुका धेरै कारणहरू मध्ये पेस्ट्री केकको अधिक खानपिन पनि एक प्रमुख पक्ष रहेको बताएको छ। अतः मोटोपनको बढ्दो महामारीलाई घटाउन अन्य धेरै कुराहरूमा सुधार गर्नुसँगै केक जस्तो हाई क्यालोरी र लो न्युट्रिएन्टस् भएको प्रशोधित जंकफुडको खानापिन गर्ने जीवनशैली छोड्नुपर्छ भनिएको छ ।


जन्मदिनमा केक काट्नैपर्छ र ?

जन्मदिनमा केक काटिएन, काटेर एकअर्कालाई खुवाउँदै गरेको र क्रिम मुखभरि दलिदिएको तस्विर वा दृश्य सामाजिक सञ्जालमा हालिएन भने पछि नै परिने हो कि जस्तो भएको छ। इच्छा नभए पनि छोराछोरी, नातिनातिनीको इच्छा पूरा गरिदिन ८०/९०  कटेका वृद्धवृद्धाले समेत ‘थोते गिजा’ देखाउँदै केक खाएका सामाजिक सञ्जालहरूमा देखिन्छ ।

पूर्वीय दर्शनमा जन्मदिन

पूर्वीय परम्परामा जन्मदिन
रमाइलो मात्र होइन, आयु बढोस्, आरोग्यता पाइयोस्, कर्मशील हुन पाइयाेस्, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी सम्झना होस् भन्ने ध्येयले जन्मदिन मनाउने हो ।

पूर्वीय दर्शनमा बत्ती निभाउनुलाई अशुभ एवै अन्धकारको अर्थको रुपमा बुझ्ने एवं मान्य गरिन्छ ।  बत्ती बालेर उज्यालो (ऊर्जा जस्तै निरन्तर बलिरहने) भावले जन्मदिन  मनाइदिनुपर्नेमा आज हामीले बत्ती  निभाएर आफ्नै संस्कृति माथि धावा बोलेका छौं ।

वास्तवमा  जन्मदिन भनेको जन्मेर अहिलेसम्म के गरेँ, अब के गर्नुपर्छ भन्ने कर्तव्यबोध गराउने दिन हो ।

केक काट्दा हुने बेफाइदाहरु 
१. उत्सव वा शुभकार्यमा प्रयोग गरिने केकले फजुल खर्च बढाउँछ,
२. आफ्नो संस्कृति र मौलिकताको विपरीत हुन्छ,
३.केकमा प्रयोग हुने सामाग्रीहरु अन्य देशहरुबाट आयात गरिने भएकोले देशको अर्थतन्त्रमा ह्रास आउँछ,
४.केकमा अत्याधिक रसायन र सुगरको मात्रा धेरै हुने भएकोले स्वास्थ्यका लागि धेरै घातक हुन्छ,
५.केक काट्ने प्रवृत्ति बाल बच्चाले सिक्दै गए भने हाम्रो मौलिकता, संस्कृति एवं मूल्यमान्यतामाथि असर पुग्छ ।


जन्मदिनले व्यक्तिको दैनिक जीवनमा गरिने हरेक क्रियाकलापसँग सरोकार राखेको हुन्छ । जन्मेसकेपछि मेरो जन्म किन भयो? म वास्तवमै को हुँ ? मेरो जन्म को खास अस्तित्व के ? मेरो नैतिकता मेरो इमान र मेरो संस्कृति के भन्ने कुरामा सबै जना अवगत  हुनु जरुरी छ । सामाजिक कार्य, सहयोग, इमानदारीता नै जन्मदिनलाई महान बनाउने कार्यहरु हुन् ।
त्यसकारण एक दिन केक काट्दैमा जन्मदिन भव्य हुन्छ भन्ने छैन त्यसको लागि जन्म र जन्मिसकेपछि आफ्नो अधिकार, कर्तव्य र दायित्वलाई सँगसँगै राखेर हिड्न सक्नुपर्छ ।


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।