काठमाण्डाै – धनुषाको विदेह नगरपालिकाबाट झन्डै दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
यही भदौ १८ गते अपहरणमा परेका विदेह–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्तलाई गएराति विदेह–१ दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
बच्चा अपहरणमा परेको सूचना पाएलगत्तै तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजी गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेकाे छ ।

