अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ । अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो ।
अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न ‘अन–अर्बिट’ हतियार आवश्यक रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
हिजो आयोजित ‘एअर, स्पेस एन्ड साइबर कन्फरेन्स’ मा बोल्दै मेइन्कले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो । तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षमा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिनुभएन ।
वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताएका छन् । उनीहरूले भविष्यको द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने वा तिनलाई अवरुद्ध पार्ने उपायहरू विकास गरिरहेका रुसी तथा चिनियाँ कार्यक्रमहरूको उल्लेख गरेका छन् ।
अमेरिकालाई क्षेप्यास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको ‘गोल्डेन डोम’ मा अन्तरिक्ष–आधारित क्षमता र इन्टरसेप्टर क्षेप्यास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ ।
सन् १९६७ को एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो । त्यसयता अमेरिका, रुस र चीनजस्ता प्रमुख शक्तिराष्ट्रहरूले त्यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन् ।

