काठमाण्डौ – हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायुसम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरु भएको छ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ गरिएको हो । सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ ।
सम्मेलनमा भाग लिन ४२० भन्दा धेरै पालिका र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजार भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ । गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ ।
सम्मेलनस्थलमा २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ । यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ ५० भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन् । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन ‘साझा पृथ्वी, साझा दायित्व : जलवायु न्यायमा सामुहिक ऐक्यवद्धता’ साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
भोलिसम्म चल्ने सम्मेलनले घरपझोङ घोषणापत्र जारी गर्नेछ । गएको भदौ १० गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायुसम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन् बढेको अध्यक्ष लालचनले बताउनुभयो । उहाँकाअनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ ।

