सोमालियाको सर्वोच्च अदालतले राष्ट्रपति हसन शेख मोहमुदले आफ्नो कार्यकाल गैरकानूनी रूपमा लम्ब्याएको फैसला सुनाएको छ । यसले राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाएको छ र राष्ट्रपति कार्यालय तथा न्यायपालिकाबीच गतिरोध निम्त्याएको छ ।
मोहमुदले प्रधानन्यायाधीश बाशे युसुफ अहमदलाई पदमुक्त गरेको भोलिपल्ट अदालतले हिजो यो फैसला सुनाएको हो । राष्ट्रपतिलाई यस्तो कदम चाल्ने अधिकार नभएको अदालतले जनाएको छ ।
अदालतले राजनीतिक नेताहरूलाई ३० दिनभित्र चुनावी योजनामा सहमति जुटाउन र ९० दिनभित्र चुनाव सम्पन्न गर्न पनि आदेश दिएको बीबीसीले जनाएको छ । यसले अर्को वर्ष देशभर चुनाव गराउने सरकारी योजनामा अवरोध पुर्याउन सक्ने खबरमा उल्लेख छ ।
मोहमुदको चार वर्षे कार्यकाल गएको मे महिनामा समाप्त भए पनि उहाँको प्रशासनले मार्च महिनामा संसद्बाट पारित कानून संशोधनमार्फत यसलाई एक वर्षका लागि लम्ब्याएको थियो ।
सोमालियामा सन् १९६९ मा अन्तिम पटक राष्ट्रव्यापी प्रत्यक्ष चुनाव भएको थियो । त्यसयता ३० वर्षभन्दा धेरै समयदेखि सोमालिया गृहयुद्धको चपेटामा परेको छ जहाँ इस्लामिक लडाकु समूह ‘अल–शबाब’ ले धेरै ग्रामीण क्षेत्रहरूमा नियन्त्रण कायम गरेको छ ।

