डब्ल्यूएचओले इबोलाका २ नयाँ खोपको परीक्षणलाई स्वीकृति दियो

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इबोला भाइरसका दुई वटा नयाँ खोपको परीक्षणलाई स्वीकृति दिएको छ । लोकतान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको इतिहासमै सबैभन्दा ठूलो इबोला प्रकोपलाई नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरू सङ्घर्षरत रहँदा विश्व स्वास्थ्य सङ्गठनले खोपको परीक्षणलाई स्वीकृति दिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन विशेषज्ञ समूहहरूले ‘बुन्डिबुग्यो’ प्रजातिसँग लड्न डिजाइन गरिएका दुई वटा खोप परीक्षण थप्न सिफारिश गरेका समाचार संस्था अलजजीराले जनाएको छ ।

इबोला सङ्क्रमणका कारण डीआर कङ्गोमा गएको मे महिनायता ५ हजार ३०० जनाभन्दा धेरैको ज्यान गएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले गएको महिना शुरू भएको एउटा परीक्षणमा ‘एर्भेबो’ खोपको प्रयोग गरिएको बताउनुभएको छ । यो खोप इबोला भाइरसको ‘जाइरे’ प्रजातिका लागि स्वीकृत भए पनि ‘बुन्डिबुग्यो’ प्रजातिका लागि भने बनाइएको होइन ।

टेड्रोसका अनुसार परीक्षणका क्रममा रहेका नयाँ खोपहरू विशेषगरी ‘बुन्डिबुग्यो’ भाइरसका लागि तयार पारिएका हुन् । विश्व स्वास्थ्य सङ्गठनले यी खोपहरूको परीक्षणको नतिजा सन् २०२७ को शुरूतिर आउने अपेक्षा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरूको सहयोगमा डीआर कङ्गोको ‘नेशनल इन्स्टिच्युट फर बायोमेडिकल रिसर्च’ ले यस परीक्षणको नेतृत्व गरिरहेको छ । यो खोप अक्सफोर्ड विश्वविद्यालयले ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ र ‘मोडेर्ना’ सँग मिलेर विकास गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *