वर्षाका कारण १२ भन्दा बढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाण्डौ – अविरल वर्षाका कारण आएको बाढी पहिरोले पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवा भिरमा रहेको पृथ्वी राजमार्गमा पहिरो खस्दा दुईतर्फी यातायात ठप्प भएको छ । काभ्रेको रोशी गाउँपालिकामा रहेको बीपी राजमार्गमा खहरे खोलाबाट लेदोसहितको पहिरो आएर बाटो बन्द छ ।

यसैबीच, रोशी, बागमती र कोदकु नदीमा जल सतहले सतर्कता पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैगरी, सुर्खेतको कर्णाली राजमार्ग, मध्य पहाडी राजमार्गको खोटाङ खण्ड, ललितपुरको कान्ति लोकपथ र बागमती खोला करिडोरका विभिन्न स्थानमा पनि यातायात अवरुद्ध भएको छ ।

गुल्मी र पाल्पा खण्ड अन्तर्गत कालीगण्डकी करिडोर, मुगुको नाग्म–गमगढी सडक खण्ड तथा बुढीगण्डकी नदीको कटानका कारण खोरलाबेँसी क्षेत्रको सडक पनि पुनः बगाएको छ । लगातारको वर्षाले कुलेखानी जलाशय भरिएर पानीको सतह बढेकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

अवरुद्ध सडकहरू खुलाउन प्रयास गरिरहेको सडक विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *