दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा : जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर बनाइएको पुल अझै सञ्चालनमा आएको छैन।

स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बूढीगङ्गा नगरपालिका–४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल १० वर्षमा निर्माण भएको थियो। खप्तड छेडेदह–३ का स्थानीय रामबहादुर रावतका अनुसार अहिले पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सञ्चालनमा आएको छैन।

“यसअघि खोलामा पुल नहुँदा विद्यार्थी, विरामी तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने स्थानीयले वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो,” उनले भने, “अहिले पुल बनेपछि पैदल आवतजावत गर्न सहज भएको छ तर पुल सञ्चालनमा नआउँदा यातायातमा हुने समस्या भने उस्तै छ।”

पुल निर्माण भएपछि सहज रूपमा यातायात सेवा लिने आशा गरेका स्थानीयले पुरानै समस्या झेल्नु परेको उनले बताए। विसं २०७३ मा तत्कालीन जिल्ला विकास समितिद्वारा पक्की पुल लागि रु. दुई करोड २९ लाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। अछामको साउद एडभेन्चर जेभीले निर्माणको जिम्मा लिएको उक्त पुल तयार हुन करिब १० वर्षमा लागेको हो।

उनका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल २०८३ असारमा मात्रै सम्पन्न भएको हो। निर्माणमा भएको ढिलाइका कारण आर्थिक दायित्वसमेत थपिएको कार्यालयको भनाइ छ। पुल निर्माण सम्पन्न भए पनि सडकखण्डका विभिन्न स्थानमा पहिरोबाट सडक अवरुद्ध हुँदा स्थानीयले थप समस्या भोग्नुपरेको छ।

बेतालमाडौँ–डेल्टा सडकखण्डको बूढीगङ्गा नगरपालिका क्षेत्रमा लामो समयदेखि सडक अवरुद्ध रहेको स्थानीय दीपक रावतले बताए। उनका अनुसार सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत तथा दैनिक कामकाजमा समस्या भइरहेको छ।

बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अवरुद्ध रहेको सडक दशैँअघि नै खोलेर सुचारु गर्ने तयारी गरे पनि मेसिन बिग्रिएकाले अब मर्मतपछि लगत्तै खोलिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *