काठमाडौँ : यो वर्ष नेपालमा स्क्रब टाइफसको उच्च जोखिम देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विवरण अनुसार गत जनवरी देखि हालसम्म ११ हजार २२६ स्क्रब टाइफसका केस रिपोर्ट भएका छन्। ७४ जिल्लामा फैलिँदा ६ जनाले ज्यान गुमाएका छन्।
ईडीसीडीको विवरण हेर्दा वर्षायामको अन्त्यतिर अर्थात् अगष्ट (श्रावण-भदौ) र सेप्टेम्बर (भदौ-असोज) महिनामा स्क्रब टाइफसका बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको देखिन्छ।
प्राप्त विवरण अनुसार सेप्टेम्बर महिनामा मात्रै २ हजार ९३८ नयाँ बिरामी थपिएका थिए, जसले यो रोगको मौसमी जोखिमलाई प्रष्ट पार्छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश उच्च जोखिममा प्रतिवेदन अनुसार भौगोलिक र प्रादेशिक आधारमा लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको प्रकोप सबैभन्दा गम्भीर रूपमा देखिएको छ। ईडीसीडीको विवरण अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ३ हजार ६६ जना (कुल राष्ट्रिय भारको २७.८%) संक्रमित भेटिएका छन्।
सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहेको यस प्रदेशमा २,११३ जना (१९.१%) संक्रमित छन्।
गण्डकी प्रदेशमा यो प्रदेशमा २ हजार ४१ जना (१८.५%) बिरामी फेला परेका छन्।
त्यसैगरी, बागमती प्रदेशमा १,३७३ (१२.४%), कोशी प्रदेशमा १ हजार २४३ (११.३%), कर्णाली प्रदेशमा ९२७ (८.४%), र मधेश प्रदेशमा २७७ (२.५%) संक्रमित दर्ता भएका छन्।
सर्वाधिक प्रभावित शीर्ष १० जिल्लाहरू तथ्याङ्क अनुसार जिल्लागत रूपमा दाङ र स्याङ्जा जिल्लामा संक्रमणको दर अत्यधिक उच्च रहेको छ।
जिल्लागत हेर्दा धेरै स्क्रब टाइफसको केश रिपोर्ट हुनेमा दाङमा ६५८, स्याङ्जामा ५६५, सङ्खुवासभामा ५०५, सल्यानमा ४९१, बझाङमा ४६३, पाल्पामा ४२३, धादिङमा ३९९, रोल्पामा ३७७, बर्दियामा ३५६ केस, दार्चुलामा ३४८ जना छन्।
स्क्रब टाइफसका मुख्य लक्षणहरू-
अचानक उच्च ज्वरो आउने,
टाउको र शरीर दुख्ने,
अत्यधिक थकान महशुस हुने,
शरीरमा रातो डाबर वा किराले टोकेको खत देखिने.
के हो स्क्रब टाइफस ?
सङ्क्रमित सूक्ष्म कीट माइटको टोकाइबाट जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ।
प्रायः यस्ता किरा खेतबारी, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा प्रजातिका जीवाणु भेटिने गर्छ, जसले गर्दा प्रायः खेतबारीमा काम गर्ने किसानमा स्क्रब टाइफस भएको पाइन्छ। यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको कानमा बस्छ।
बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा रिकेटसिया सुसुगामुसी’जीवाणु भेटिने र यस्ता ठाउँमा काम गर्ने व्यक्तिलाई टोकेपछि यो संक्रमण हुने गर्छ।
यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमण भएपछि घाँटी वरिपरिका ग्रन्थि सुन्निएर गिर्खा आउँछन्। यस्ता लक्षण देखा परेको पाँचौं दिनदेखि सातौं दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिन्छ। बिमिरा बिस्तारै पेट, हातगोडा तथा अनुहारमा फैलिन्छ।
समयमै यसको पहिचान गरेर उपचार नगरे शरीरका महत्त्वपूर्ण अंगमा असर गरेर मानिसको मृत्यु हुन्छ। विशेषगरी सास फेर्न गाह्रो हुने, मिर्गौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर बिरामीको मृत्यु हुन सक्छ। कसैमा माथिका लक्षण देखापरे तुरुन्तै उपचार गराइहाल्नु पर्छ। विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागे-नलागेको पत्ता लगाउन सकिन्छ।
स्क्रब टाइफस यस्तो संक्रमण हो जुन पहिचान भएपछि चाँडै सञ्चो हुन्छ किनभने यसको उपचारमा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ र यसले यो संक्रमणलाई छिटो र सजिलै ठिक गराउँछ।
यसरी बच्न सकिन्छ स्क्रब टाइफसबाट
मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। संक्रमणको भएको आशंका लागेमा समयमै परीक्षण गराउनुपर्छ। यस्तै खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन। स्क्रब टाइफस भए नभएको पहिचान बिरामीमा देखिएको लक्षण, सूक्ष्म कीटले टोकेको चिनोबाट हुन्छ।
यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुन्छ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेष्ट गरेपछि यसको पहिचान हुन्छ।
यस्तै खेतबारीमा काम गर्न जाँदा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउनु पर्छ। सम्भव भएसम्म जुत्ता लगाउनु पर्छ।

