काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ ।
हिजो साँझ ८ बजे खुलाइएको टिकटको अनलाइन बुकिङ साढे ८ बजे नै सकिएको प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाले इसेवाले जनाएको छ । आउँदो ९ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने प्रतियोगिताको पहिलो खेलमा साबिक विजेता सुदूरपश्चिम रोयल्स र साबिक उपविजेता लुम्बिनी लायन्सबीच हुँदैछ ।
टिकट बुकिङ खुलेलगत्तै इसेवाको प्रणालीमा हजारौँ दर्शक एकै पटक जोडिएका थिए । दर्शकको चाप बढेसँगै उद्घाटन खेलका लागि टिकट बुकिङ बन्द भएको हो । नेपाल क्रिकेट संघ क्यानले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ ।
त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।

