चम्पी आँधी नजिकिँदै गर्दा ताइवान र जापानमा हवाई सेवा प्रभावित भएको छ । ताइवान र जापानमा चम्पी आँधीको प्रभावलाई ध्यानमा राख्दै दर्जनौँ उडान रद्द गरिएको बीबीसीले जनाएको छ ।
ताइवानमा झण्डै १२५ उडान रद्द गरिएका छन् । यसबाट हजारौँ यात्रु प्रभावित भएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै केही रेल तथा पानीजहाज सेवा पनि स्थगित गरिएका छन् । राष्ट्रिय निकुञ्ज र पर्यटकीय स्थलहरू बन्द गर्ने निर्णयसमेत गरिएको छ ।
चम्पी जापानमा यस वर्ष आएको ३०औँ आँधी हो । सन् २०१३ पछि पहिलो पटक जापानमा एकै वर्षमा यति धेरै आँधी आएका हुन् । वैज्ञानिकहरूका अनुसार यस वर्ष आँधीको गतिविधि बढ्नुमा शक्तिशाली एल निनोको प्रभाव हुन सक्ने देखिएको छ ।
एल निनो प्रशान्त महासागरमा समय–समयमा देखिने प्राकृतिक मौसमी घटना हो । यसले खडेरी, अत्यधिक वर्षा र अन्य चरम मौसमी अवस्था निम्ताउन सक्छ । वैज्ञानिकहरूले यस वर्ष पूर्वी एशियामा आँधीको गतिविधि अझ बढ्न सक्ने अनुमान गरेका छन् ।

