जनकपुरधामका प्रमुख शक्तिपीठमा नवरात्रको रौन

काठमाडौँ : मिथिलाको साँस्कृतिक केन्द्र जनकपुरधामका प्रमुख शक्तिपीठहरूमा तान्त्रिक विधिअनुसार घटस्थापना गरी नवरात्रिको पूजा आरम्भ गरिएको छ। यी स्थानमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

बडादशैँको पहिलो दिन, जनकपुरधामस्थित ऐतिहासिक राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ। मन्दिर परिसरहरूमा बिहानैदेखि श्रद्धालुहरू पूजा-अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा-आजा गर्ने परम्परा छ।

मन्दिरका पुजारीहरूकाअनुसार तान्त्रिक पद्धति अपनाउँदै आज बिहान शुभ साइतमा गणेश कलश, भैरव कलश र दुर्गा कलश स्थापना गरिएको छ। यससँगै माता दुर्गाको आह्वान गरी वैदिक मन्त्रोच्चारणका साथ पूजा शुरु गरिएको हो। जनकपुरका शक्तिपीठहरूमा दशैँको अवसरमा हुने विशेष पूजा विधि हेर्नका लागि टाढा–टाढाबाट भक्तजनहरू आउने गर्छन्।

मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको व्यवस्था मिलाइएको जनाएको छ। नवरात्रको नौ दिनसम्म देवीका विभिन्न स्वरूपहरूको आराधना गरिने भएकाले मन्दिरहरूमा धार्मिक चहलपहल थप बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *