काठमाडौँ : पछिल्लो समय देशभरका सामुदायिक विद्यालय घट्दै जाँदा निजी विद्यालय भने बढ्दै गएको तथ्यांकले देखाएको छ।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनमा आव २०८०/८१ मा शैक्षिक सत्र २०८२ मा नेपालभर कुल ३५ हजार ९५१ विद्यालयले तथ्याङ्क उपलब्ध गराएका छन्।
यीमध्ये २७ हजार १० ओटा (७५.१ प्रतिशत) सामुदायिक तथा धार्मिक प्रकृतिका विद्यालय र ८ हजार ९४१ ओटा (२४.९ प्रतिशत) संस्थागत विद्यालय रहेको उल्लेख छ।
धार्मिक विद्यालयहरू पनि सरकारी सहयोगमा सञ्चालन हुने भएकाले शिक्षा विभागको फ्लास रिपोर्ट २०८२ मा तिनलाई सामुदायिक विद्यालय समूहमा समेटिएको छ।
कुल विद्यालयको सङ्ख्या अघिल्लो शैक्षिक सत्र २०८१/८२ को ३५ हजार ४४७ बाट ५०४ ले घटेको छ। यस अवधिमा सामुदायिक विद्यालयको सङ्ख्या २८८ ले घटेको भए पनि संस्थागत विद्यालयको सङ्ख्या ७९२ ले बढेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
धार्मिक विद्यालयको सङ्ख्या १ हजार ३८७ (कुल विद्यालयको ३.९ प्रतिशत) रहेको छ। लुम्बिनी प्रदेशमा यसको सङ्ख्या सबैभन्दा बढी ५५५ रहेको छ।
किन घट्यो सामुदायिक विद्यालय ?
प्रतिवेदनले सामुदायिक विद्यालय घट्दै जानुमा विद्यार्थी सङ्ख्यामा आएको कमी, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा घट्दो विद्यार्थी सङ्ख्या प्रमुख कारण रहेको देखाएको छ।
‘बसाइँसराइ, शहरी क्षेत्रमा जनसङ्ख्या तथा शैक्षिक अवसरको बढ्दो केन्द्रीकरण र जन्मदरमा आएको कमीका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘यस अवस्थालाई सम्बोधन गर्न विद्यालयको पुनः नक्साङ्कन, विद्यार्थी शिक्षक अनुपात, भौगोलिक दुरी तथा यातायात सुविधाका आधारमा विद्यालय समायोजन तथा गाभ्ने नीति अघि बढाइएको छ।’
शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०८२ को तथ्याङ्कले नेपालमा विद्यालयको कुल सङ्ख्या क्रमशः घटिरहेको तर संस्थागत विद्यालयको सङ्ख्या बढिरहेको देखाएको पनि जनाएको छ।

