काठमाण्डौ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ ।
साथै इतिहास दोहाेर्याउदै एकदिवसीय एशिया कपमा पुग्न सफल भएको छ । एसीसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो ।
यसअघि पहिलो पटक सन् २०२३ को फाइनलमा पनि नेपालले यूएईलाई नै हराएर एसिया कप खेलेको थियो । मलेसियाको वायुमासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो ।
नेपालका ओपनर आसिफ शेखले आज शतक प्रहार गरे । उनी १०६ बलमा १०२ रन बनाएर आउट भए । यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो । अर्का ओपनर अर्जुनकुमालले ४३ रन बनाएर रनआउट भए ।
त्यस्तै इशानले पाण्डे १३, रोहित पौडेलले ४०, गुल्सन झाले ५२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७ र बसीर अहमदले अविजित १५ रन बनाए । बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए ।
खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १/१ विकेट लिए । जितका लागि ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभर १ बलमा २६९ रनमा अलआउट भयो ।
अब एशिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरुसँग हुनेछ ।

