सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै

काठमाण्डौ – सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदीअन्तर्गत सिन्धुलीको खुर्कोट, बुढीगण्डकी नदीअन्तर्गत गोरखाका आरुघाट र महाकाली नदीअन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सर्तकता तहमै रहेको छ ।

त्यसैले यी क्षेत्रको खोला नदी किनार र आसपासको क्षेत्रमा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । साथै बाढी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटेकोशी र  त्रिशुली नदी तथा स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भएको छ ।

आज भोटेकोशी र त्रिशुली नदी तथा स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वामान महाशाखाले आग्रह गरेको छ । यसैगरी, आज काठमाण्डौ उपत्यका लगायत ३२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

काठमाण्डौ उपत्यकासहित धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *