आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित सङ्कट समाधानमा सरकार प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गरेका छन्। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
“प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ”, प्रधानमन्त्री शाहले भने, “आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन। आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ।”
सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका उनको कथन छ। नौ हजार ४३५ जनालाई उद्धार गरिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा उपचार, मनोपरामर्शका लागि काठमाडौँबाट विभिन्न चिकित्सकसहितको टोली खटिएको र प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाको सेवा चालू गर्ने क्रम जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ।
प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको उले बताए। कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको पनि शाहले उल्लेख गरेका छन्।

