चीनद्वारा २० लाख अमेरिकी डलर सहयोग

काठमाडौँ : छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आइतबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

राजदूत चाङले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरिएको दुई लाख अमेरिकी डलरसमेत हस्तान्तरण गरेका छन् ।

राजदूत चाङले नेपाल र चीनका लागि अहिलेको प्रमुख कार्य पहिरो विपत्तिको सामना गर्नु रहेको बताए।

नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनियाँ सुरुङ उद्धार टोलीमार्फत विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूतले बताए ।

चिनियाँ पक्षले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्वीर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

त्यस अवसरमा मन्त्री वाग्लेले चीनको सहयोगप्रति आभार व्यक्त गर्दै कठिन समयमा दुवै देशबीच देखिएको गहिरो मित्रताको उच्च प्रशंसा गरे ।

उनले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद् प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने तथा विपद्पछिको योजना र पुन:निर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *