काठमाण्डाै – भोटेकोशी हुँदै आज बिहान आएको बाढीले ४ वटा घर र चरौँदीको पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा परेका छन् ।
धादिङको गल्छी गाउँपालिका–४ चरौँदी त्रिशूली नदीमा आएको बाढीले ४ वटा घर बगाएको हो । बिहान त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । बहाव बढेपछि नदीले कटान गर्दा त्यहाँका थप ४/५ वटा घर जोखिममा परेका छन् ।
त्यस्तै गोरखाको घ्याल्चोक र धादिङको चरौँदी जोड्ने पुल पनि त्रिशूलीले बगाएको छ । त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको हो ।
बाढी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो ।
यसअघि बुधवार रसुवाको भोटेकाशी हुँदै भीषण बाढी आउँदा ठूलो क्षति भएको छ ।

