रसुवा बाढीका कारण सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न नेपाली कांग्रेसले सक्रियता बढाएको छ।
विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा कांग्रेसले सरकारसँगको समन्वय र सर्वदलीय सहकार्यलाई जोड दिएको हो।
बैठकमा सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विपद्को यस घडीमा सबै राजनीतिक दलहरूबीच साझा प्रतिबद्धता व्यक्त भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि दलहरूबीच संसदभित्रै एउटा साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको उनले बताए। सो संयन्त्रलाई पूर्णता दिई तत्काल काम अघि बढाउन रास्वपा सभापतिसँग थप छलफल गरिने उनले बताए।
विपद् व्यवस्थापनका लागि कांग्रेसले फिल्डमा समेत टोली परिचालन गरेको छ। पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकसहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रधानमन्त्रीलाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाइसकेको छ। यस्तै केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित ‘विपद् समन्वय समिति’ ले रसुवा लगायतका क्षेत्रमा समन्वय गरिरहेको छ।
सभापति थापाले विपद्को समयमा सरकारकै नेतृत्वलाई केन्द्रमा राखेर सहयोग गर्ने पार्टीको परम्परा रहेको भन्दै प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गरे।
पार्टीका केन्द्रीय सदस्य, सांसद र देशभरका निर्वाचित जनप्रतिनिधिहरूबाट संकलित स्वेच्छिक रकम पार्टीको कोषमार्फत एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उनले बताए। राहत वितरणमा दोहोरोपन नहोस् भन्नका लागि यस्तो प्रक्रिया अपनाएको पार्टीले जनाएको छ।
बैठकमा नुवाकोट, रसुवा र धादिङका स्थानीय नेताहरूका साथै नेपाल तरुण दलका प्रतिनिधिहरूले प्रभावित क्षेत्रको वस्तुस्थिति र देखिएका अभावका बारेमा जानकारी गराएका थिए। कांग्रेसले विपद्को यस अवस्थामा सरकारसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत दोहोर्याएको छ।

