रसुवा बाढीपीडितका लागि गण्डकी प्रदेश सरकारले चार करोड दिने

पर्वत : रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ प्रदान गर्ने भएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायतका क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले विपदमा परेका नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गर्ने तथा आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै स्वदेश तथा विदेशबाट धार्मिक तथा अन्य यात्राका लागि रसुवा र नुवाकोट पुगेका नागरिकसमेत प्रभावित भएको प्रदेश सरकारले जनाएको छ। धार्मिक यात्राका क्रममा रसुवा पुगेका केही नागरिक सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि गण्डकी प्रदेश सरकारले बताएको छ।

प्रदेश सरकारले सम्पर्कविहीन नागरिकको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार तथा प्रभावित र आश्रयविहीन नागरिकका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ। गण्डकी प्रदेश सरकारले विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको उल्लेख गर्दै सङ्कटको समयमा पीडितको साथमा उभिन उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आह्वान गरेको छ।

यस्तै, विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न प्रदेश सरकारले आग्रह गरेको छ। प्रदेश सरकारले विपद्मा परेका नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको जनाउँदै उद्धार, खोजी, उपचार र राहतका कार्यमा सबै पक्ष एकजुट भएर सहयोग गर्न अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *