इरान र ओमानबीच होर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापनका लागि एक नयाँ फ्रेमवर्कमा सहमति भएको छ।
नयाँ प्रस्ताव अनुसार यस जलमार्गबाट कुनै पनि सैन्य जहाजहरूलाई आवतजावत गर्न नदिइने इरानका उप–विदेशमन्त्री काजिम गरिबाबादीले जनाएका छन्।
मध्यपूर्वमा इरान युद्ध सुरु भएको करिब ६ महिना पुग्नै लाग्दा बन्द प्रायः रहेको सो जलमार्गमा व्यावसायिक जहाजको आवागमन सुचारु गर्ने विषयमा दुवै देशका उच्च कूटनीतिज्ञहरूबीच भएको छलफलपछि उक्त प्रगति भएको बताइएको छ।
इरानका उप–विदेशमन्त्री गरिबाबादीले यो सहमति लागु भएमा होर्मुज जलमार्ग भएर कुनै पनि मुलुकको सैन्य जहाजलाई प्रवेश वा पार हुन नदिइने बताए।
ओमानको खाडीबाट पर्सियन खाडीतर्फ प्रवेश गर्ने व्यावसायिक जहाजहरू पूर्ण रूपमा इरानी जलक्षेत्र भई जाने बताइएको छ। त्यसैगरी, बाहिरिने मार्ग भने केही भाग इरानी जलक्षेत्र र केही भाग ओमानको प्रादेशिक जलक्षेत्र भएर तय गरिने बताइएको समाचारमा उल्लेख छ।
यसैबीच, ट्रम्प प्रशासनले इरान र ओमानबीच भइरहेको यो संयुक्त व्यवस्थापन सम्झौताका केही बुँदाप्रति कडा आपत्ति जनाएको छ। विशेष गरी बाहिरिने मार्गमा इरान र ओमानको संयुक्त नियन्त्रण रहने विषयमा अमेरिका असहमत देखिएको बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानलाई यस प्रक्रियामा बाधक बनेमा सैन्य बमबारी गर्ने चेतावनी दिएका थिए।

