बेरुजु छलफलका लागि ५ उपसमिति गठन, रास्वपाले ३ राख्दा बाँकी २ वटामा एमाले र राप्रपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न ५ वटा उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो ।

समितिका सभापति भरतबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरुजुलाई समयमै फर्छ्याेट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई ५ वटा समूहमा विभाजन गरेको छ ।

अर्थ र सुशासन उपसमितिको संयोजकमा रुकेश रञ्जित चयन हुनुभएको छ । राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञबहादुर बोगटी हुनुहुन्छ । खुश्बु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार, पर्यटन र विकास उपसमिति तथा आर्थिक उत्पादन, विज्ञान प्रविधि, वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ । सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ ।

सभापति खड्काले सार्वजनिक लेखा समितिका उपसमितिहरू गठन भइसकेकाले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपीलसमेत गर्नुभयो ।

यसअघिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दाबी गरेसँगै बैठक स्थगित भएको थियो । तर आजको बैठकमा भने सहमतिअनुसार एमाले र राप्रपाले १/१ उपसमिति संयोजक पाएका छन् भने बाँकी ३ उपसमितिको नेतृत्व रास्वपाले पाएको छ । बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ । त्यस्तै सुनार, झा र रञ्जित रास्वपाका सांसद हुनुहुन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।