सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ ।

सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन् । रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले सुनसरीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन् । 

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीलगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकमा कांग्रेसले सरकारको भूमिकाप्रति प्रश्न उठाएको छ । कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री शाह र उहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभयो । उहाँले सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो । 

बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि सुनसरीलगायत सम्भावित प्रभावित क्षेत्रमा पूर्वसतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढाउन साझा सहमति जनाएका छन् । आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी हुनुभएन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।