काठमाण्डाै – संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।
आज बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिश भएकाे ३ जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो । प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ हिजाे भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ आज सम्पन्न भएको हो ।
समितिका सभापति बाेधनारायण श्रेष्ठले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित नामहरू सर्वसम्मत अनुमोदन भएको घोषणा गर्नुभयो ।
सुनुवाइका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन प्रस्तावित पदाधिकारीहरूलाई समितिले आग्रह गरेको छ ।
परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाई समितिमा पेश गर्न आग्रह गरेकाे सभापति श्रेष्ठले जानकारी दिनुभयो ।