रूपन्देही-३ मा व्यवसायी लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल —निर्वाचन आयोगले रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा कात्तिक १७ गते प्रतिनिधिसभाको उपनिर्वाचन गर्ने मिति तोकेपछि उम्मेदवारी घोषणा सुरु भएको छ । राजनीतिक दलहरूले उम्मेदवारका लागि आन्तरिक छलफल गरिरहेका बेला सो क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषणा आएको हो । 

रूपन्देही–३ बाट २०७९ मंसिरमा निर्वाचित राप्रपाका दीपक बोहोराको २०८१ चैत १९ गते मृत्यु भएपछि यो क्षेत्र खाली भएको हो । बुटवल उपमहानगरपालिका–१९, मोतिपुर निवासी लेखनाथ गैरेले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बुटवलका युवा व्यवसायी तथा सामाजिक अभियन्ता गैरेले आइतबार पत्रकार सम्मेलन गर्दै पहिलो उम्मेदवारी घोषणा गरेका हुन् । ठूला राजनीतिक दलप्रति वितृष्णा बढेको र जनताले इमानदार, स्वतन्त्र र युवा उम्मेदवार खोजिरहेकाले आफू त्यसका लागि योग्य ठानी उम्मेदवारी दिन लागेको उनले बताए । आफू अहिलेसम्म कुनै राजनीतिक दलमा आबद्ध नभएको उनले स्पष्ट पारे।

गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रूपन्देही-३ मा पर्ने तिनाउ नदीमा स्थानीय तहहरूले लगाउने ठेक्कामा हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली तथा चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेन्डा रहेको गैरेको दाबी छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।