काठमाण्डाै – सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौँ दिनमा भेटिनुभएको छ ।
जेठ १५ गते शुक्रवारदेखि हराइहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा आज बिहान घिस्रँदै गरेका उहाँलाई फेला पारेका हुन् । शेर्पाको खोजीमा हिजो हेलिकोप्टर पनि परिचालन भएको थियो । तर फेला पार्न सकेको थिएन ।
आज बिहान भेटिएपछि शेर्पालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याएको एटके एक्सपिडिशनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो । अहिले उहाँकाे ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ ।
हिमालयन ट्राभलर्स एडभेन्चर प्रालिमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा जानुभएको थियो । आरोहण सकेर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।
सगरमाथा आरोहणका लागि मे २९ अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नुभएको हो । हिमालमा एक्लै ६ दिनसम्म जीवित रहेर घिस्रँदै आधार शिविरतर्फ झरिरहको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन् ।