काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा धेरै रकम फिर्ता ल्याएको छ । थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले ५ वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षता र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गर्छ । तर प्राध्यापकहरूले बिदाको दुरुपयोग गरेको चर्चापछि छानबिनका लागि डा. जीवन काफ्लेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको थियो ।
समितिको प्रतिवेदनअनुसार त्रिविले कारबाही प्रक्रिया अघि बढाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन् । समितिले झन्डै ४०० जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको र त्यसबाट २ अर्ब रुपैयाँभन्दा धेरै रकम नोक्सान भएको ठहर गरेको छ ।
अध्ययन बिदामा गएका स्थायी शिक्षकका ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिविलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनुभएको छ । अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कबुलियतनामा गरिएको हुन्छ । त्यहीअनुसार रकम फिर्ता भइरहेको छ ।