सभामुखका लागि अर्यालको मात्रै मनोनयन दर्ता : उपसभामुखमा कांग्रेस र नेकपाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाेलप्रसाद (डीपी) अर्यालले आज मनोनयन दर्ता गराउनुभएको छ ।

सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा पार्टीका सभापति तथा सांसद रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल हुनुहुन्छ ।

अर्याल गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत बन्नुभएको थियो ।

सङ्घीय संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकेको थियो । तोकिएको अवधिमा अर्यालको मात्रै मनोनयन दर्ता भएको छ । उहाँलाई पर्सि आइतवार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

रास्वपा प्रतिनिधिसभामा १८२ सिटसहित ठूलो दल रहेकाले र अर्यालको मात्रै एकल मनोनयन परेकाले उहाँ सभामुख हुने निश्चित भएको छ । रास्वपाको हिजाे बसेको बैठकले सभामुखमा उपसभापति अर्याललाई अघि सार्ने निर्णय गरेको थियो ।

सभामुख पदको चुनावपछि चैत २३ गते राष्ट्रियसभा उपाध्यक्ष पदका लागि चुनाव हुनेछ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र चयन गर्ने उल्लेख छ । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा दाबी गर्ने भएका छन् ।

यसैबीच रास्वपाका सभापति लामिछानेले पहिला सभामुख चयनको आवश्यक प्रक्रिया पूरा भएपछि उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताउनुभएको छ । सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदको साझा अभिभावक हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।