काठमाण्डौ - कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माण शुरु भएको साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
२०७३ सालको फागुनमा ३० महिनाभित्र सकिने गरी तीन चरणमा ठेक्का सम्झौता भए पनि ठेकेदारको बेवास्ताका कारण सडक अझै अलपत्र परेको हो । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका अनुसार, पहिलो र अन्तिम प्याकेजको काम सकिए पनि बीचको बेलौरी–बेल्डाडी खण्ड भने निर्माण कम्पनीको लापरबाहीका कारण पूरा हुन सकेन ।
ठेकेदारले काम नगरेपछि सो ठेक्का तोडेर डेढ महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताउनुभयो । यसैबिच, पचुई क्षेत्रको १४ सय मिटर खण्डमा भारतीय पक्षले सीमा विवाद झिकेकाले त्यो भाग छोडेर बाँकी काम अघि बढाइने उहाँले बताउनुभयो ।
सडक निर्माण नहुँदा स्थानीयवासी हिलाम्मे सडकमा सास्ती भोग्न बाध्य छन् भने जनप्रतिनिधिहरूले पनि समयमै काम सक्न माग गरेका छन् ।