आउँदो तीन दिन मनसुन सक्रिय रहने, सतर्क रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - आउँदो तीन दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज देशका पहाडी भू–भागका एक/दुई ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । यस्तै कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक/दुई ठाउँमा आरिघोप्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको २४ घण्टामा देशका सबैजसो ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्यधिक वर्षा भएको छ । बर्दियाको ताराताल, कास्कीको याङ्जाकोट, चितवनका केही ठाउँ लगायतमा २४ घण्टामा सय मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई ठाउँ र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा अति भारी अर्थात् आरिघोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिमा उल्लेख छ ।

भोलि र पर्सि पनि देशभर मनसुन सक्रिय रहनेछ । विभागले आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।