अरुण नदीको बेलीब्रिज भाँचियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – सङ्खुवासभाको मकालु गाउँपालिका वडा नमबर ५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । बिहान ९ बजेतिर सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

बेलीब्रिज भाचिँदा ट्रक अरुण नदीमा खसेको छ । दुर्घटनामा चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।

निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यो मार्ग हुँदै मकालु बेसक्याम्प जानेआउने गरिन्छ । पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।