स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ । 

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । 

आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपिल गर्नुभएको हो । 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ । 

गएको साउन ९ गते नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको घटनामा संघले संलग्नलाई कारबाहीको माग गरेको छ । संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेला पछि तय गर्ने समेत जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।