काठमाण्डाै – नेपालकाे सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भएको छ । आज बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्गको औपचारिक उद्घाटन गर्नुभएको हो ।
काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा छ । अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ ।
यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरू अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरूका लागि सुरुङमार्ग खुला गरिने सडक विभागले जनाएको छ ।