असार १६, काठमाण्डाै – सर्वोच्च अदालतमा प्रस्तावित तीन जना न्यायाधीश र न्याय परिषद्मा प्रस्तावित एक जना सदस्यको संसदीय सुनुवाइ सकिएको छ ।
न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश सिफारिश गरेको थियो । यस्तै सरकारले महेशकुमार नेपाललाई न्याय परिषद्को सदस्य सिफारिश गरेको थियो ।
उहाँहरूका सम्बन्धमा हिजोदेखि संसदीय सुनुवाइ शुरू भएकोमा आज सकिएको हो । सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने गरेन । सामान्यतया सुनुवाइ सकिएकै दिन नाम अनुमोदन गर्ने चलन भए पनि समितिले आज अनुमोदन नगरेको हो ।
सुनुवाइ भएका व्यक्तिहरूमाथिको उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएकाले तत्काल अनुमोदन नगरेको समितिले जनाएको छ । समितिसँग समय बाँकी रहेकोले थप बुझेर अनुमोदन गर्ने सांसदहरूले बताएका छन् ।