काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ता तथा सुभेच्छुकहरुले काठमाण्डौसहित विभिन्न शहरमा प्रशर्दन गरेका छन्। काठमाण्डौको माइतीघरदेखि बबरमहल–बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ ।
माइतीघरमा भेला भएका एमालेमा विभिन्न जनसङ्गठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा गाडीको आवागमन ठप्प छ ।
केही ठाउँमा प्रहरीसँग झडप समेत भएको छ । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ । प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।
गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको जाँचबुझ गर्न गठित काकी आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले बिहान अध्यक्ष ओलीलाई पक्राउ गरेपछि पार्टीले दिउँसोदेखि प्रदर्शन शुरू गरेको हो ।
काठमाण्डौसहित विराटनगर, पोखरा लगायतका शहरमा पनि प्रदर्शन भएको छ । पक्राउ पछि एमाले अध्यक्ष केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षणपछि चिकित्सकको सल्लाह अनुसार भर्ना गरेको अस्पातलले जनाएको छ ।
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले महाराजगञ्जमा रहेको प्रहरीको २ नम्बर गणमा राखेको छ । आज शनिवार सार्वजनिक बिदा भएकाले उहाँहरूलाई भोलि मात्रै अदालत पेश गर्ने प्रहरीले जनाएको छ ।