पीएम कप : सुदूरपश्चिमले कर्णालीलाई हरायो, हेमन्त धामीकाे ६ विकेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले हराएको हो ।

कर्णालीले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका बिपिन रावलले ३३ रन बनाए । कर्णालीका अनुज चनारा र दिवन पुनले समान २ विकेट लिए ।

त्यसअघि वीरगञ्चमा टस हारेर ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा १ सय १९ रनमा अलआउट भयो । कर्णालीका किरण थगुन्नाले सबैभन्दा धेरै २६ रन बनाए । सदूरपश्चिमका हेमन्त धामीले ६ विकेट लिए ।

यस्तै प्रतियोगिताअन्तर्गत अर्को खेलमा अहिले लुम्बिनी प्रदेश र कोशी प्रदेश खेलिरहेका छन् । जनकपुरधाममा भइरहेकाे खेलमा कोशीले लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुनेछन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।