नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनिरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन्। जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्र नारायण चौधरी, बैजन्ती चौधरीलगायत नेता कार्यकर्ताहरू रहेका छन्।
धनिरामलाई रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बनाउनेगरी पार्टी प्रवेश गराएको जनमतले जानकारी दिएको छ। गत संघको निर्वाचनमा उनले रुपन्देही-१ बाट करिब १४ हजार मत ल्याएका थिए।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अर्कैलाई उम्मेदवार बनाउने भएपछि उनीसहितको टोली जनमतमा प्रवेश गरेको बताइएको छ। रेशम चौधरीले थारू आयोगको सदस्यसमेत रहेका डा. उमाशंकर चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका छन्।