जनै पूर्णिमा एवं रक्षा बन्धनको आध्यात्मिक महत्त्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन भदौ ३ गते अर्थात  सोमबार  विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समिति बताउँछ ।  मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ।

जनै फेर्ने दिन
आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।

यस्तो छ जनैको महत्व
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ।
धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ।

क्वाँटी खाने पर्व
आज ११ थरिका गेडागुडी मिसाई  भिजाएर टुसा उमारी क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

राखी बाँध्ने दिन
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ।  वास्तवमा हाम्रो इतिहास हेर्दा राखी,, डोरो बाध्ने काम पवित्र ब्राह्मणबाट हुने गर्दथ्यो तर अहिले दाजुभाई,दिदीबहिनी सबैबाट बाध्ने एवं बधाउने काम हुन थालेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता समेत बढ्न थालेको पाइन्छ ।

कहाँ कहाँ लाग्छ मेला?
काठमाडौंको पशुपतिनाथ र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी,रुपन्देहीको सैनामैना स्थित श्री पर्ोहा परमेश्वर बोलबम धाम,   धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज मेला लाग्छ। 

रक्षा बन्धन एवं जनै पूर्णिमाको आध्यात्मिक महत्त्व 

रक्षा बन्धन भन्ने बित्तिकै पवित्रताको सूचकलाई जनाउँछ । वास्तविक रक्षा बन्धन त्यो हो जहाँ पवित्रताको निशानी छ । कुनै धागों हातमा बाध्नुमा मात्र रक्षा बन्धन सिमित छैन, सच्चाई यो हो कि त्यो रक्षा गर्न सक्ने तागत हामीमा आउन हामीले आफ्नो कर्मलाई महान बनाउन सक्नुपर्छ । संसारमा पवित्रता जस्तो महान कुरा केही छैन त्यसैले अङ्ग्रेजीमा भनाइ छ "Where there is purity there is unity " अर्थात् पवित्रताले एकताको स्थापना गर्छ र जहाँ एकता हुन्छ त्यहाँ हरेक असम्भव काम पनि सम्भव हुन थाल्छ । हातमा डोरो बाध्नु, जनै धारण गर्नु यो केवल कर्म काण्ड जुन आफ्नो ठाउँमा ठिक छ तर त्यसलाई हामीले बुझ्नु उत्तिकै जरुरी छ । शरीरमा धारण गरिने जनै केवल शरीरमा लगाएर हिड्दैमा सिमित छैन यसलाई हामीले बुझ्नुपर्छ ।

जनै अर्थात् जानकारी दिनु ज्ञानलाई बाड्नु, ज्ञानलाई धारण गर्नु ।जसरी हरेक चित्र भित्र चरित्र छ त्यसैगरी नै हाम्रा हरेक पर्वहरु भित्र पनि त्यो चरित्रको यादगार छ ।
त्यसैले भनिन्छ "क्या सम्झे कवि क्या सम्झे रवि" अर्थात् त्यो चित्र जसले बनायो, त्यो कर्मको सुरुवात जसले गरेको हो  कि उसलाई त्यसको अर्थ थाहा हुन्छ कि रवि अर्थात् भगवानलाई थाहा हुन्छ, जो स्वंयमा नै  पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते हुनुहुन्छ ।

हामीले हरेक कुरालाई सिधा सिधाबाट हेर्ने बानी नै  लगाएका छौं । जस्तो एउटा प्रसङ्गमा 'कुनै जवानामा एउटा ब्राह्मणले श्राद्ध गर्न लाग्दा घरमा पालेको  बिरालोले श्राद्ध गर्दा बाधां एवं  दु:ख दियो भनेर त्यसलाई बाधेरं श्राद्ध गरेछ, जुन कुराको दृश्यावलोकन उसको छोराले देखेको रहेछ, अब उसको छोराले के बुझ्यो भन्दा श्राद्ध गर्दा बिरालोलाई बाधेंर गर्नुपर्ने रहेछ नत्र विधि सम्पन्न हुन्न, उसले यो बुझेन वा उसलाई बुझाइएन कि बिरालो किन बाधियो ? उसले यो बुझयो बिरालो बाध्नु नै पर्छ र उसले पनि यो कुरालाई प्रथा परम्परा बनाइदयो जुन उसका पुस्ताहरुले मान्दै, लागू गर्दै गए ।' अब यो घटनाबाट के कुरा खुल्न अाउँछ भने हामीले हाम्रा कर्मकाण्ड र संस्कृतिको अर्थ बताउनबाट चुकेका रहेछौं, यसबाट हाम्रा सन्ततिहरु ज्ञान र त्यसको अर्थलाई बुझ्न भन्दा पनि कसरी कर्मकाण्ड सफल पार्ने भन्ने बाटो तर्फ कुदेको देख्न सकिन्छ ।

जसरी ज्ञानलाई व्यवहारिक  तवरले  नउठाउँदासम्म त्यो ज्ञान अपूरो रहन्छ त्यसैगरी रक्षा बन्धन लगायत हाम्रा चाडपर्वहरुको आध्यात्मिक रहस्यलाई नबुझदा सम्म जनै लगाए पनि, डोरो बाधें  पनि त्यो वास्तवमा अपूरो रहन्छ, तसर्थ हरेक पर्व,चाड पछाडिको  आध्यात्मिक रहस्यलाई बुझनु  आवश्यक छ ।

(लेखक धर्म,संस्कृतिका बारेमा जिज्ञासा राख्नुहुन्छ) ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।