सार्वजनिक जग्गा संरक्षण अभियानमा पोखरा महानगरलाई नागरिकको साथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ । 

महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन् । सहभागीहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताए । उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकिन भइसकेकाले तत्काल ‘फिर्के कोरिडोर’ निर्माण शुरु गर्न सुझाव दिएका छन् । 

महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै महानगर मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कुनै पनि बहानामा सार्वजनिक जग्गा मिच्ने कार्य स्वीकार्य नभएको र यो अभियान निरन्तर जारी रहने उहाँले बताउनु भयो । उहाँले महानगरभित्र रहेको सार्वजनिक जग्गाको एकीकृत लगत सङ्कलन भइरहेको र केही समयभित्रै त्यसको विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो । 

प्रारम्भिक अनुमानअनुसार पोखरामा वन क्षेत्रसहित झन्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।