काठमाण्डौ - नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो । यसअघि सन् २०२२ मा सार्वजनिक विवरणअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ थियो । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ ।
त्यहाँ १४५ वटा पाटेबाघ रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ११२ बाघ गणना भएको छ । त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ५० बाघ भेटिएको विवरण छ ।
नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।
विश्वमा सन् २०१० मा झण्डै तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ । सन् २०१० मा रुसमा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ ।